धनगढी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछाने पक्राउ पर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन गर्नुको कुनै अर्थ नभएको टिप्पणी गरेका छन्।
आइतबार गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सरकारले लामिछानेमाथि अनुसन्धान गरेको बताए।
विगतमा कांग्रेसकै नेताहरुमाथि मुद्दा चल्दा आफूहरुले आन्दोलन नगरेको देउवाको भनाइ थियो। ‘हाम्रा साथीहरुलाई मुद्दा चलाइएकै हो, हामीले होहल्ला गरेनौं’, उनले भने, ‘लामिछाने पक्राउमा सरकारको पूर्वाग्रह छैन।’
सहकारी ठगीमा दोषी ठहर भए मात्र लामिछानेलाई कारबाही हुने भन्दै देउवाले अनुसन्धानमा सहयोग गर्न रास्वपालाई आग्रह गरे। देउवाले सरकार ढल्छ भन्ने गलत हल्ला फैलाउन खोजिएको भन्दै त्यसमा विश्वास नगर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।