काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुबीच आपसमा एकता कायम राख्न आग्रह गरेका छन्।
आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) को वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले संघमा राजनीतिक खिचातानी नगर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्र रुपमा काम गर्न आग्रह गरे। ‘म देशको प्रधानमन्त्री हो। एमालेको मात्रै प्रधानमन्त्री होइन। राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ। सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन्। हामीले त्यस हैसियतले काम गर्ने हो’, उनले भने।
प्रधानमन्त्री ओलीले गैर आवासीय नेपालीलाई पहिचान र आवश्यक सुविधा दिन सरकारले कञ्जुस्याइँ नगर्ने पनि बताए।
उनले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने पनि बताए। प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।