काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वि.सं.२००७ सालपछि कुनै पनि सरकारले नगरेको काम आफूहरूको पछिल्लो सरकारले गरेको दाबी गरेका छन्।
पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको सरकारविरुद्ध खबरदारी सभालाई शनिबार सम्बोधन गर्दै श्रेष्ठले राणा शासनको अन्त्यपछि गठन भएका कुनै पनि सरकारले गर्न नसकेको काम प्रचण्ड नेतृत्वको पछिल्लो सरकारले गरेको बताएका हुन्।
भ्रष्टाचार, ठगी गर्ने र राज्यलाई लुट्नेविरुद्ध सुशासनको अभियान चलाएको भन्दै त्यसले देशका आम नागरिकमा आशाको नयाँ संचार भएको जिकिर गरे।
‘प्रचण्ड सरकारले भ्रष्टाचार र ठगीविरुद्ध ठूलो अभियान संचालन गरेको थियो। हामी दाबाका साथ भन्न सक्छौं राणाशासन अन्त्यपछि सात सालयताका कुनै सरकारले नगरेको काम हामीले गर्यौं। त्यसपछि भ्रष्ट र ठगहरूले भन्न थाले यो प्रधानमन्त्री र गृहमन्त्री रहेसम्म आनन्दले सुत्न पाइएन’, उनले भने, ‘त्यसरी भ्रष्टाचार नियन्त्रण अभियान र सुशासनलाई अघि बढाउँदा देशमा नयाँ आशाको सुरुवात भएको थियो ।’
अहिले सरकारले देशलाई संकटको दिशतर्फ धकेलिरहेको र देश र जनताको हित विपरीत गतिविधि गरिरहेकाले खबरदारी गरिएको उनले बताए।
‘लोकतन्त्रमाथि प्रहार भइरहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनु छ। हामी समाजवादमा जाने हो अहिले आधार तयार पार्ने हो। त्यसैका लागि हामी चनाखो हुनु जरुरी छ।’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।