काठमाडौं– बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलनमा रास्वपा सभापति रवि लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
सहकारी ठगी मुद्दामा कास्कीको पोखरास्थित प्रहरी हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १२ जनालाई रुपन्देहीमा संगठित अपराधमा पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको हो।
सहकारी ठगी मुद्दामा अनुसन्धानमा रहेका रविलाई थुन्न नदिन हजारौं कार्यकर्ताले पोखरामा दिनहुँ प्रदर्शन गरिरहेको र बिहीबार थप एकसाता हिरासतमा राखेर अनुसन्धान गर्न त्यहाँको अदालतले अनुमति दिएकै दिन रुपन्देहीमा संगठित अपराधमा पक्राउ गरी अनुसन्धान गर्न अदालतले अनुमति दिएसँगै लामिछानेको मुद्दा अब सहकारी ठगी मात्रै नभएर संगठित अपराध, सम्पति शुद्धिकरण, किर्तेसहितका मुद्दा अघि बढ्ने भएका छन्।
सुरक्षास्रोतका अनुसार अब उनको मुद्दा कास्की जिल्लामा मात्रै सीमित नभएर रुपन्देही, चितवन, काठमाण्डौं पुग्ने निश्चित भएको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा छानबिनमा रहेका रविसहित उनका तत्कालीन साझेदार छविलाल बन्जाडे जोशीसहित १२ जना बुटवलको सुप्रिम सहकारी ठगीमा संगठित अपराध मुद्दामा पक्राउका लागि अदालतले बिहीबार सहमति दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।