रुपन्देही– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको चर्चा चलाएर विरोधीहरू आत्मरतिमा लागेको टिप्पणी गरेका छन्।
लुम्बिनी प्रदेशस्तरीय भेलालाई कपिलवस्तुमा सोमबार सम्बोधन गर्दै नेता नेपालले विरोधीहरूले चलाएका अफवाहबाट निराश नहुन आग्रहसहित समाजवादी अभियानलाई साथ दिन देशभरबाट साथ समर्थन भइरहेको दाबी गरेका हुन्।
‘पदाधिकारीमा आकांक्षी धेरै भएकाले विकल्पमा निर्वाचन भयो, आफ्नै राजीखुसीले प्रक्रियामा भाग लिने र नसकेपछि गलत हल्ला चलाउने गीत गाउने काम भएको छ, यस्ता स्वार्थी व्यक्तिहरू गएपनि पार्टीले सामना गरेर अघि जानुको विकल्प छैन’, उनले भने ।
कम्युनिष्ट आन्दोलनको इतिहास बचाउनका लागि आफ्नो पार्टी गठन भएको र यसको औचित्य पूरा भइरहेको उनले बताएका छन्।
‘पार्टी गठनको औचित्य पूरा हुँदै गएको छ, जुन उद्देश्यका लागि हामीले पार्टी बनाएका थियौं, त्यो पूरा भइरहेको छ, हामी हल्लाको पछि लागेर हिँड्ने होइन, हाम्रो पार्टीले नेपाली राजनीतिमा गरेको योगदानको चर्चा भएको छ’, नेपालले भने ‘पार्टी विलीन हुन लागेको अनर्थ चर्चा हो, एमालेमा विलीन हुने, माओवादीमा विलिन हुने हल्ला चलाइएको छ, त्यो बेकारको हल्ला हो, हामी आफ्नो अस्तित्वमा चलिरहेका छौँ, यो हामीलाई कमजोर बनाउनेहरूको हल्ला हो, आत्मरति हो, कागले कान लग्यो भनेर नदौडिनुस् कान छाम्नुस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।