काठमाडौं– भरतपुरको पुंगी खोला मापदण्डभित्र परेका संरचना घरधनी आफैंले भत्काउन सुरु गरेका छन्।
भरतपुर महानगरपालिकाका इन्जिनियर सूर्य लामाले लायन्स भवन लगायत अन्य भवनहरु क्रमश: घरधनी आफैंले भत्काउन सुरु गरेको जानकारी दिए। अतिक्रमित संरचना हटाउन पटक पटकको सूचनामा भइसकेकाले आफैं संरचना भत्काउन अनुरोध गरिएको उनले बताए।
घरधनीले अटेरी गरी संरचना नभत्काए महानगरको ऐन कानुनअनुसार जरिवाना लिइने उनको भनाइ छ। भरतपुर महानगर प्रमुख रेनु दाहालले पुंगी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको उल्लेख गरिन्।
‘अहिले घरधनीहरुले मापदण्ड विपरितका संरचना आफैं भत्काइरहनु भएको छ’, उनले भनिन्, ‘ यो खुसीको विषय हो। महानगरपालिका बल प्रयोग गरेर भत्काउने पक्षमा छैन। अटेर गरे बल प्रयोग गर्न बाध्य हुनेछौ।’
पुंगी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ।
गत असोज २ गते भरतपुर महानगरले मापदण्ड विपरितका भोगचलन गरी निर्माण भएका संरचनाहरुमा डोजर चलाएको थियो। तर संरचना धनीले विरोध गरेपछि उनीहरुलाई आफ्नो संरचना आफैं हटाउन एक हप्ताको समय दिएको थियो। दशैसकिए लगतै उनीहरूले संरचना धमाधम घरधनीहरुले भत्काउन थालेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।