काठमाडौं – नेपाल प्रहरीले साथ नदिएपछि गौशाला धर्मशालाबाट रित्तो फर्किएको काठमाडौं महानगर प्रहरीको टोली पुन: २ वटा डोजरसहित पुगेपछि गौशाला प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएको छ।
धर्मशालानजिकै रहेको गौशालाको संरचना अवैध रहेको भन्दै डोजर लिएर नगर प्रहरी त्यहाँ पुगेको हो।
मारवाडी सेवा समितिले सञ्चालन गरेको गौशाला (गाई गोठ) संरचनाको नक्सा पास नगरिएको महानगरको भनाइ छ।
तेस्रोपटक आज दिउँसो धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली प्रहरीले धर्मशाला भित्र पस्न नदिएपछि महानगरको साइनबोर्ड लगाएर फर्किएको थियो।
हिजो पनि नगर प्रहरी धर्मशाला खाली गराउन पुगेको थियो। महानगरले पशुपति गौशाला धर्मशाला खाली गराउन जानुअघि प्रहरी/प्रशासनको सहयोग खोजेको थियो।
सुरक्षा उपलब्ध गराउन आग्रह गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पठाएको पत्रमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सकारात्मक भएनन्। उनले आपसी छलफलबाट विवाद मिलाउन आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।