काठमाडौं – सत्ताको प्रमुख दल नेपाली कांग्रेसका नेताहरुले व्यवसायी मीनबहादुर गुरुङले गरेको दानबाट नेकपा एमालेको पार्टी कार्यालय बनाउने कार्यको विरोध गरेका छन्।
विजयादशमीको एकदिन अघि एमालेको नयाँ केन्द्रीय कार्यालयको शिलान्यास प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले गरेका थिए। एमालेको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान गरेका गुरुङले भवन निर्माण गर्ने जिम्मेवारी समेत लिएका छन्।
पार्टी कार्यालय निर्माणमा व्यवसायीको दान लिएपछि एमाले विरोध भएको छ। सत्ताको प्रमुख दल कांग्रेसका नेताहरुले ‘विवादित’ व्यवसायीबाट दान लिएर पार्टीक कार्यालय बनाउने कार्यको विरोध गरेका हुन्।
देशको राजस्व बढाउने र रोजगारी सिर्जनाको दायरा विस्तारित गर्ने कार्यमा निजी क्षेत्रलाई संलग्न गर्नुपर्ने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको मत छ। भूकम्प प्रभावितका घर, गाउँमा शैक्षिक संस्था र स्वास्थचौकीका भवन, पुल, रंगशाला निर्माण लगायतमा निजी क्षेत्रलाई संलग्न गराउन उपयुक्त हुने शर्माको धारणा छ।
कांग्रेस नेता एवं राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा एमालेको पार्टी कार्यालय निर्माणमा व्यवसायी गुरुङको दानप्रति असन्तुष्टि व्यत्तल गरेका छन्। पार्टी कार्यालय व्यवसायीको रकमले बनाउने कार्यले प्रधानमन्त्री केपी ओली र ‘समाजसेवी’ गुरुङको शाख नउठेको टिप्पणी खतिवडाले गरेका छन्। उनी भन्छन्,‘केही नलेखेर बस्न मन थियो तर मन मानेन। यो समयमा विपत्ति पीडितलाई दुवै जनाले सहयोग गरेको भए कत्ति राम्रो हुन्थो होला ?’
कांग्रेसका अर्का केन्द्रीय सदस्य नैनसिंह महर दानबापत पाएको जग्गा एमालेले फिर्ता गर्नुपर्ने विचार राख्छन्। जनतामा छरिएको निराशालाई आशामा परिणत गर्न वर्तमान गठबन्धन बनेकाले प्रधानमन्त्रीले कसैबाट दानदातव्य र नजराना लिनु सुशासनको खिलाप हुने महरले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।