बाँके- जिल्लाका अधिकांश हुलाक कार्यालयले भाडाका भवनबाट सेवा प्रवाह गरिरहेका छन्। केहीले भने गाविस कार्यालयमा आश्रय लिएका छन्।
हुलाकका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको अतिरिक्त हुलाक सङ्घका अध्यक्ष नारायण गडरियाले बताए। भौतिक पूर्वाधारविहीन कार्यालयबाट न्यून सुविधामा काम गर्नुपरेको उनको गुनासो छ।
नरैनापुर, राप्ती सोनारी, जानकी र डुडुवा गाउँपालिकामा रहेका हुलाक कार्यालयको अहिलेसम्म आफ्नै भवन नरहेको जिल्ला हुलाक कार्यालयका प्रमुख गोविन्दप्रसाद पाण्डेले जानकारी दिए। विगतमा इलाका र अतिरिक्त कार्यालयका रुपमा रहेका हुलाक कार्यालयलाई अब स्थानीय तह अन्तर्गत सञ्चालन गर्ने प्रक्रिया प्रारम्भ भएको उनले बताए।
हाल बाँकेमा ११ इलाका र ३५ अतिरिक्त हुलाक कार्यालय रहेका छन्। बाँके जिल्ला हुलाक कार्यालयले लुम्बिनी प्रदेशका बर्दिया तथा कर्णाली प्रदेशका सबै जिल्लाको हुलाक स्टेशनरी र डाँक व्यवस्थापन गर्दै आएको छ।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।