काठमाडौं – १९ वर्षीय युवा खेलाडी अंशुमान राथ हङकङका अलराउन्डर हुन्। तीन वर्षअघि राष्ट्रिय टिममा डेब्यु गरेका मध्यक्रमका ब्याट्सम्यान अंशुमान अहिले उत्कृष्ट लयमा छन्। किनकि उनी डब्लुसिएलमा सर्वाधिक रन प्रहार गर्ने खेलाडीको पहिलो नम्बरमा छन्।
तर उनले नेपालविरुद्ध भने रन बनाउन सकेनन् । उनलाई नेपालका करण केसीले चौथो ओभरमा शून्य रनमै आउट गरे।
हङकङले डब्लुसिएलमा खेलेका १० मध्ये ७ खेलमा ब्याटिङ गरेका उनले ४ सय ९८ रन जोडिसकेका छन्। जसमा १ शतक र ४ अर्धशतक समावेश छन्। यसको अर्थ उनले डब्लुसिएलमा खेलका २ खेलमा मात्र अर्धशतक बनाउन सकेका छैनन्। डब्लुसिएलमा उनको औसत रन ७१.१४ छ। स्ट्राइक रेट ८९.०८।
यो पनि – डब्लुसिएल च्याम्पियनसिप : हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल, करणले लिए पहिलो विकेट [LIVE]
अंशुमान डब्लुसिएलमा बढी चौका प्रहार गर्ने खेलाडीको तेस्रो नम्बरमा छन्। उनले अहिलेसम्म ४४ चौका प्रहार गर्दा ६ छक्का मात्र हिर्काएका छन्।
गत फेब्रुअरीमा अंशुमानले नेदरल्यान्ड्सविरुद्ध शतक प्रहार गरेका दिए। खेलमा उनले पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने क्रममा १ सय ३४ रन बनाए। उनले बाबर हायतसँग मिलेर तेस्रो विकेटका लागि १ सय ९७ रनको साझेदारी गरेका थिए। यो साझेदारी हङकङका लागि मात्र नभएर डब्लुसिएलकै समेत ठूलो साझेदारी हो।
बलिङमा पनि उनको प्रदर्शन राम्रो छ। डब्लुसिएलको ७ खेलमा बलिङ गरेका उनले ७ विकेट लिइसकेका छन्। देब्रे हाते स्पिनर उनको राम्रो प्रदर्शन २२ रन दिएर ३ विकेट लिनु हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।