काठमाडौँ- आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ। यस वर्ष आज एकै दिन आश्विन शुक्ल अष्टमी र नवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
बिहान पहिले आश्विन शुक्ल अष्टमीका दिन गरिने कर्म गरेर केही समयको विश्रामपछि आश्विन शुक्ल नवमीका दिन गर्ने कर्म गर्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।
नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो।
दोस्रो दिन असोज १८ गते शुक्रबार पूजास्थलमा ब्रह्मचारिणी देवी र तेस्रो दिन गत शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो। चौँथो दिन आइतबार र पाँचौँ दिन सोमबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो। सोमबार पनि चौथी तिथि वृद्धि भएकाले दुवै दिन कुष्माण्डा देवीकै पूजाआराधना गरिएको समितिले जनाएको छ।
यस्तै, छैटौँ दिन मङ्गलबार स्कन्दमाता, सातौँ दिन बुधबार कात्यायनी देवी, आठौँ दिन बिहीबार कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरियो। दुर्गा पक्षको आठौँ दिन आश्विन शुक्ल अष्टमीमा आज महागौरी र नवमी तिथि पनि परेकाले सिद्धिदात्री देवीको पनि विशेष पूजाआराधना गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।