काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ।
_x000D_
_x000D_
मुलुकभर श्रृंखलाबद्ध महिला हिंसा र हत्याका घटना बढ्दै गइरहँदा घटनाको अनुसन्धान गर्न पनि सरकार असफल भएको भन्दै कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गरेको हो। कांग्रेसले निर्मला पन्तको हत्याको प्रमाण नष्ट गर्न राज्य शक्तिको दुरुपयोग भइरहेको तथा अध्ययन प्रतिवेदन सार्वजनिक हुन नसकेकोप्रति पनि गम्भीर आपत्ती जनाएको छ।
_x000D_
_x000D_
प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषाल गौतमले मुलुकभरको हत्या हिंसाको घटना रोक्न नसक्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन्। उनले भनिन्, ‘यो सरकारले हत्या हिंसाका शृंखलालाई रोक्न सकेको छैन। म निवेदन गर्न चाहन्छु। यति धेरै हत्या हिंसाका घटनाहरु र महिला अस्मितामाथि लागेका प्रश्न चिन्हको जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिएर आफ्नो नैतिक उदारता देखाउनु जरुरी भइसकेको छ।’
_x000D_
_x000D_
एसिड प्रहार गरी महिलामाथि हिंसा गर्ने घटना बढ्दै गएको भन्दै उनले दिन प्रतिदिन हत्या हिंसाका घटना हुँदा राज्य मौन बसेको र कुनै पनि अपराधीलाई समातेर कारबाहीको दायरामा ल्याउन नसकेकोप्रति गम्भीर आपत्ती जनाइन्। ‘विडम्बनाको कुरा छ, यो शासनकालमा अपराधीले न त कानुनसँग डरायो, न सरकारसँग नै।’, उनले भनिन्।
_x000D_
_x000D_
सचेतक गौतमले हिंसा नियन्त्रणमा प्रतिपक्षी दलले सरकारलाई जुनसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारिन्। उनले महिला हिंसाका घटनालाई राजनीतिकरण नगर्न पनि सरकारको ध्यानाकर्षण गराइन्। गौतमले महिला विरुद्धका हिंसा र अस्मितामा प्रश्न चिन्ह खडा भएको भन्दै भनिन्, ‘सरकारले अपराधीलाई समातोस्। त्यो अपराधीले सरकारको भय, त्रास, डरबाट उन्मुक्ति हुन नपाओस्। त्यसको लागि प्रमुख प्रतिपक्षी दल सहयोग गर्नसक्छ, हामी सहयोग गर्न तयार छौं। महिला विरुद्धका हिंसाका घटनालाई राजनीतिकरण नगरियोस्।’
_x000D_
_x000D_
फरक प्रसंगमा उनले दशै तिहारको बीचमा मुल्य वृद्धि गरेर सरकारले गरिब जनताको ढाड सेक्ने काम गरेको आरोप लगाइन्। गरिब जनताले दशै तिहार नमनाउन भन्नका लागि सरकारले इन्धन, यातायात, खाद्यान्न र करको दायरा बढाएको भन्दै गौतमले सर्वत्र छाएको मुल्यवृद्धि आफूहरुलाई स्वीकार्य नहुने चेतावनी पनि दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।