काठमाडौं- बाल्यकालमा अभिनेता विपीन कार्की दशैं कसरी मनाउँथे। अहिलेका व्यस्त अभिनेता कार्कीले दशैँलाई यसरी सम्झिए:
दशैं आउने बित्तिकै मलाई रोमान्चित बनाउँछ। बाल्यकालको दशैं याद आउँछ।
त्यतिबेला गाउँमा जब लङ्गुरबुर्जा हल्लाएको सुनिन्थ्यो, पिङ मच्चिएको देखिन्थ्यो अनि दशैं आउँथ्यो। दशैंमा घर जाँदा पनि पुराना दशैंको याद आउँछ। बाटोमा पिङ देखेँ भने गाडीबाट ओर्लिएर खेल्छु। पिङमा मच्चिँदा खुब रमाइलो लाग्छ। पिङ चढ्दा बाल्यकाल नै फर्किएजस्तो लाग्छ। कतिबेला घर पुगेर बाल्यकालका साथी भेटौँ जस्तो हुन्छ।
अहिले त फिल्म खेलेर कलाकार भइयो। साथीहरू म सेलेब्रिटी भएको देखेर गर्व गर्छन्। उनीहरूले गरेको प्रशंसा सुनेपछि दशैं अझै रंगीन हुन्छ।
बच्चा बेलामा पनि म साथीभाइलाई हँसाइरहन्थेँ। सबैको लागि प्रिय थिएँ। हसाउनका लागि धेरै विषय हुन्थे मसँग। मिलनसार थिएँ। सबैको आँखामा पर्थेँ। दशैंमा उनीहरूसँग भेट हुँदा पुराना कुरा कोट्याउँछौँ। खुब रमाइलो लाग्छ।
दशैंमा अर्को सम्झने भनेको मामाघर जाँदा हो। दशैं लाग्नेबित्तिकै ठूलो बाहरूसँग टीकै नथापी मामाघर कुद्न हतार हुन्थ्यो मलाई। ठूला बाहरूले त आशिर्वाद मात्र दिन्थे। मलाई आशिर्वाद भन्दा पैसा ठूलो थियो। पैसा मामाघरमा पाइन्थ्यो। पैसा बटुलेर म खुसी भएर फर्कन्थेँ।
तर, एक वर्ष चाहिँ मेरो लागि निकै खल्लो दशैं भयो। त्यो हजुरबा बित्नुभएको वर्ष थियो।
छोरी जन्मिएको वर्ष गाउँ जान पाइनँ। त्यतिबेला बा आमा काठमाडौं आउनुभयो। काठमाडौंमा मनाइने दशैंको खासै रौनक नहुँदो रहेछ।
पहिला आफू सानो हुँदा नयाँ लुगा बा आमाले किनिदिन्छन् भन्ने आश लाग्थ्यो। तर अहिले परिवारलाई आफूले किनिदिँदा रमाउँछु।
मैले काम गरेको वर्षदेखि नै बा-आमाको लागि सपिङ गरेको हुँ। सुरुमा रक्सी कम्पनीमा काम गर्दा पनि मैले उहाँहरूको लागि सपिङ गरेको छु।
पहिलो पटक सपिङ गर्दा उहाँहरूको आँखामा खुसीको आँसु झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।