काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा हुने उपनिर्वाचनमा मात्रै नभई २०८४ को निर्वाचनमा पनि माओवादीले एक्लै चुनाव लड्ने बताएका छन् ।
पार्टीको दोलखाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कहिले कांग्रेस र कहिले एमालेसँग मिल्दा माओवादीको पहिचान हराउने आशंका बढेपछि आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताए।
अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पनि एक्लै चुनाव लडेर माओवादीलाई फेरि आफ्नै पहिचानसहित स्थापित गर्ने संकल्प लिन लागेको बताए।
उनले भने, ‘प्रतिक्रियावादीहरुले सोचे अहिले माओवादीको संख्या घटेको छ, सरकारबाट पनि बाहिर गएपछि माओवादी धेरै कमजोर होला भन्ने सोचेका थिए । अहिले तिनीहरुको सात्तो गएको छ माओवादी देशैभरि जाग्न थाल्यो भनेर। यहाँ भएका सामाजिक संघसंस्थाको निर्वाचनमा कांग्रेस-एमाले मिल्दा पनि माओवादी एक्लैले हराएको छ।’
उनले नेता कार्यकर्तालाई आगामी उपनिर्वाचनलाई मेहनत गरेर देशभर सन्देश दिन आग्रह गरे। यस्तै उनले आफू प्रधानमन्त्री हुँदाभन्दा अहिले आफू धेरै सक्रिय भएको बताएका छन् ।
उनले भने, ‘देश र जनताको नेतृत्व गर्नु प्रधानमन्त्री हुनुमात्रै होइन । म अहिले प्रधानमन्त्रीबाट बाहिर आउँदा धेरै उत्साहित भएको छु । जोश बढेको छ । म जनताको बीचमा फर्किन पाएको छु । बालुवाटारमा हुँदा कताकता सरकारी काम, कर्मचारीतन्त्र र अनेक नियम-कानूनले जोडिन नपाएको अहिले प्रधानमन्त्रीबाट बाहिर आउँदा म जनताको प्रधानमन्त्री हुन थालेको जस्तो महसुश हुन थालेको छ ।’
उनले जनताको सेवामा नभई अर्को उद्देश्यले सरकार बनेको भएकाले अहिले देशमा बाढी पहिरोको विपद् हुँदा पनि आफूले अग्रसरता देखाउन परेको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।