काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणमा अहिले नेपाल र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ। हङकङको टिन कङ रिक्रिएसन मैदानमा टस जितेको नेपालले बलिङ रोजेको थियो।
हङकङ ५० ओभरमा १९४ रनमा अलआउट भयो।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। बसन्त रेग्मी र करण केसीले २–२ विकेट हात पारे। सुसन भारीले १–१ विकेट लिए। हङकङका लागि जिम एट्किनसनले सर्वाधिक ७८ रन बनाए। उनलाई सुनसले एलबिडब्लुको धरापमा पारे।
करण केसीले हङकङका ओपनिङ ब्याट्सम्यान अंशुमान राथलाई शून्य रनमा आउट गरे। यस्तै बाबर हायत २९ रनमा रनआउटको सिकार भए। उनलाई नेपालका दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन्। सन्दीपले निजाकत खानालाई १२ रनमा विनोद भन्डारीबाट स्टम्ट आउट गराए। बसन्तले वाकात खानलाई १४ रन बनाएर खेलिरहदा पेभेलियनको बाटो देखाए। सन्दीपले साइद वासिफ र एइजाज खानलाई पनि आउट गरे।
नेपाली टिम : पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सागर पुन, सोमपाल कामी, विनोद भन्डारी, करण केसी, आरिफ शेख, सुसन भारी, बसन्त रेग्मी।
शुक्रबार र आइतबार हुने दुई खेलले नेपालको आगामी यात्रा तय गर्नेछ। जित हात पारे तालिकाको शीर्ष चारमा पुगेर एक दिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवित रहनेछ। हारले नेपाल डिभिजन–२ मा झर्नेछ। यद्यपि डिभिजन–२ मा शीर्ष दुईभित्र पर्न सके एक दिवसीय विश्वकप खेल्ने विकल्प बाँकी नै रहनेछ। डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थामा छ।
लाइभ भिडियो :
नेपालले १३ वर्षपछि हङकङमा खेल्न लागेको हो। सन् २००४ मा नेपालले एसिसी फास्ट ट्रयाक तीन दिवसीय क्रिकेटमा घरेलु टिम हङकङसँग प्रतिस्पर्धा गरेको थियो। खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो। त्यतिबेला खेलेका पारस खड्का र शरद भेषावकर अहिले नेपाली टिममा छन्। हङकङ पुगेपछि बिरामी परेका शरदले दुवै खेल खेल्ने छैनन्।
शरदको स्थानमा खेल्न नरेश बुढाऐर शुक्रबार बिहान हङकङ पुग्दैछन्। यसअघि अनुभवी खेलाडी शक्ति गौचन पनि बिरामी भएका कारण टिममा परेका थिएनन्।
लाइभ टेक्स्टका लागि यहाँ क्लिक गर्नुहोस् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।