काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका क्रममा भुटान पुगेका छन्। आज उनी ५ सदस्यीय टोलीसहित भुटानको राजधानी थिम्पुमा अवतरण भएका हुन्।
पूर्वराजासँग पूर्वअधिकारकुमारी (छोरी) प्रेरणा र पूर्वशाहज्यादी (भतिजी) शिताष्मा पनि छन्। पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण दलमा छन्।
भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरलाइन्सबाट गएका पूर्वराजालाई स्वागत गर्न बिमानस्थलमा रातो कार्पेट ओछ्याइएको थियो। भुटानकी राजकुमारी बिमानस्थलमा रिसिभ गर्न पुगेकी थिइन्।
स्रोतहरुका अनुसार पूर्वराजाको यो भ्रमण राजनीतिक हो। उनी भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुककै निमन्त्रणमा गएको दाबी गरिएको छ। पूर्वराजाका स्वकीय सचिव सागर तिमल्सिना भ्रमणको तयारीका लागि केही दिनअघि नै भुटान पुगेका थिए।
स्रोतका अनुसार पूर्वयुवराज्ञी हिमानी पनि जाने तयारी थियो, तर अस्वस्थ भए जान सकिनन्। उनको खुट्टाको लिगामेन्टमा समस्या भएर बैड रेस्टमा छिन्।
पूर्वराजाले भुटानी राजासँग भेटवार्ता गर्ने बुझिएको छ। अन्य उच्च पदस्थहरुसँग पनि भेट्नेछन्।
यो भ्रमणको प्रयोजन खुलाइएको छैन। पूर्वराजाका तर्फबाट भ्रमण गर्ने सूचनाबाहेक अरु विवरण सार्वजनिक भएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।