काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्। साथै उनले प्राकृतिक विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर त्यसको सामना गर्न आह्वान गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलामा अमेरिकामा रहनुभएका प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत देशभरि अविरल वर्षाले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपहिरोबाट सतर्कता अपनाउन सबैलाई आग्रह गरेका हुन्। उनले वर्षाबाट भएको असरबारे गृहमन्त्री रमेश लेखकसँग टेलिफोन गरी विवरणसमेत लिएका थिए।
“बाढीपहिरोले मुलुकका विभिन्न स्थानमा जनधनमा क्षति भएका खबर आइरहेका छन्। आज गृहमन्त्री लेखकसँग टेलिफोन गरी यससम्बन्धी सबै जानकारी लिएको छु”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्।
गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई उद्धार तथा राहत सामग्री वितरणमा खटाइएको जानकारी दिएका थिए।
“केही ठाउँमा उद्धारमा ढिलाइ भएको जानकारी प्राप्त भएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिम्मेवारीपूर्वक उद्धार कार्य अघि बढाउनु होला”, प्रधानमन्त्रीले निर्देशन दिँदै लेखेका छन्, “मौसमविद्हरुका अनुसार आज पनि वर्षा हुनेछ। उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौं। भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौं। ”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।