काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा सङ्गठनात्मक एकता आवश्यक रहेको बताएका छन्। एमाले पार्टी मुख्यालय ललितपुर, च्यासलमा शुक्रबार आयोजित अखिल नेपाल महिला सङ्घको चौथो बैठकमा उनले सङ्गठनात्मक एकताले नै पार्टीमा देखिएका चुनौतीलाई समाधान गर्न सकिने उल्लेख गरे।
महासचिव पोखरेलले पार्टीलाई बलियो बनाउन सबै तहका पार्टी सङ्गठनका नेता कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने र यसका लागि पार्टी नेतृत्व आवश्यक सहजीकरण गर्न तयार रहेको धारणा राखे। पार्टीलाई निर्णायक शक्ति बनाउनका लागि वार्षिक कार्यतालिकामा तर्जुमा गरी पाटी गतिविधिलाई टोलटोल र बस्तीबस्तीसम्म लैजान आवश्यक रहेको उनको भनाइ थियो।
महासचिव पोखरेलले यसवर्ष पार्टीले ४० वर्ष मुनिका युवालाई लक्षित गरेर युवा शिखर सम्मेलन गर्न लागेको समेत जानकारी दिए। राजनीतिक स्थायित्व हुनेगरी संविधान संशोधन, सरकारको स्थायित्व र आर्थिक अवस्था सुदृढीकरणका लागि नेपाली कांग्रेससँग मिलेर सरकार बनाउनु परेकाले सोहीअनुसार बुझ्न र बुझाउन उनले आग्रह गरे।
“संविधान जारी भएको १० वर्षका सबल र दुर्बल पक्षको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधान गर्ने गरी राजनीतिक समीकरण बनेको छ। यसरी बनेको सरकारले सामाजिक अराजकता, आर्थिक सङ्कट र शान्ति प्रक्रिया टुङ्ग्याउने कुरालाई समाधान गरेर अगाडि बढ्ने छ”, महासचिव पोखरेलले भने।
उनले ठूला पार्टी मिलेर सरकार बनाउने कुरा उचित नभए पनि राजनीतिक स्थायित्वका लागि मिल्नुपर्ने अवस्था आएको धारणा राखे। “पार्टी-पार्टी मिलेर सरकार बनाउने कुरा सामान्यता उचित होइन तर स्थायित्वका लागि दुई पार्टी मिल्नुपरेको हो”, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।