काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डमा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको टिप्पणी गरेका छन्।
धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले सत्ता गुमाएको कुण्ठामा माओवादीले संसद अवरुद्ध गरेको समेत बताएका हुन्। उनले सरकार गठनको एक सय दिन नपुग्दै प्रचण्डले सदनमा दिएको अभिव्यक्ति पूर्ण रुपमा अराजनीतिक भएकोसमेत टिप्पणी गरे।
‘सरकार गठन भएको १०० दिन नपुग्दै उहाँले संसदमा जुन अभिव्यक्ति दिनुभयो, त्यो पूर्णत असंसदीय र अराजनीतिक थियो’, उनले भने, ‘त्यही अभिव्यक्तिका कारण संसदभित्रै गतिरोध उत्पन्न भयो।’
माओवादी द्वन्द्वकालमा भएको हिंसाको आलोचना गर्दा हिंसा शब्द असंसदीय हो भनेर माओवादीले संसद रोकेको उनले बताए। तर माओवादी द्वन्द्वकालमा हिंसा मात्र भएन, राष्ट्रमा आतंक सिर्जना गर्ने काम भएको उनको भनाइ छ।
दिनदहाडै बसमा आगजनी गर्ने, राति घरमा सुतेका एउटै घरमा ११ जनाको हत्या गर्ने काम भयो’, उनले भने, यो हिंसा मात्र होइन, आतंक पनि हो।’
यद्यपि माओवादी कार्यकर्ताको बलिदान समाजको परिवर्तनका लागि भएको र त्यसको आफूहरुले प्रशंसा नै गर्ने गरेको उनले बताए। त्यही क्रममा गलत तत्वहरुले हिंसात्मक क्रियाकलाप पनि गरेको भन्दै उनले भने, ‘हिंसाको विरोध गर्नु अराजनीतिक पनि होइन, असंसदीय पनि होइन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।