काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ‘पञ्चायकालमा राम्रो काम भएको र महेन्द्र भिजनरी राजा भएको’ भनेको रवीन्द्र मिश्रको दाबीमा सचिवालयले खण्डन गरेको छ।
प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच मंगलबार खुमलटारमा भेटवार्ता भएको थियो। भेटवार्तापछि मिश्रले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै प्रचण्डले निरन्तरताको क्रमभंगता खोजेको दाबी गरेका थिए।
प्रचण्ड सचिवालयले भने मिश्र आफैंले राखेको निजी विचारलाई प्रचण्डको विचार भन्दै टिप्पणी गरेको भन्दै खण्डन गरेको छ। ‘उहाँका विचार भनेर मिश्रजीले समय सन्दर्भबाट कटाएर आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रस्तुत गर्नु राजनीतिक संस्कार होइन’, सचिवालयले विज्ञप्तिमार्फत भनेको छ।
सचिवालयले पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारेबारे जनतामा भ्रम नरहेको भन्दै विज्ञप्तिमा भनेको छ, ‘यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।