धुलिखेल- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको दाबी गरेका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिएको बिपी कोइरालाको प्रतिमा अनावरणमा बोल्दै उनले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताए।
देउवाले भने, ‘दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाएअनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ।’ कांग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मिहिनेत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान उनले पार्टीका नेता/कार्यकर्तालाई आग्रह गरे। उनले भने, ‘सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्छ।’
सभापति देउवाले ठट्यौली शैलीमा ‘कांग्रेसले कामै गर्दैनन्, गफ बढी गर्छन्’ भन्ने भाष्यलाई चिर्दै धेरै काम गर्नुपर्ने बताए। ‘अब हामीले जनतासँगको सम्बन्ध बढाउनुपर्छ, उनीहरूको मन जित्नेगरी काम गर्नुपर्छ। प्रदेश, जिल्ला तथा गाउँ एवं स्थानीयस्तरका विकास योजनामा मिलेर काम गर्नुपर्छ। जनताको दुःख, पीर–मर्का बुझ्नुपर्छ,’ देउवाको भनाइ थियो।
कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने आफ्नो इच्छा र उद्देश्य रहेको बताउँदै उनले भने, ‘नम्बर वान पार्टी बन्नका लागि पनि जनताको काममा लाग्नैपर्यो। यसका लागि म सबै साथीहरूलाई पुनः आग्रह गर्छु।’
हालको यो संविधान समावेशी र समानुपातिक प्रणाली भएकाले कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो भएको उनको तर्क थियो । ‘तैपनि गाह्रै, अप्ठ्यारै भएपछि काम त गर्नुपर्यो नि! त्यसको निम्ति हामीले धेरै मिहिनेत गर्यौँ भने बहुमत प्राप्त गर्न सक्नेछौँ,’ उनले भने।
सभापति देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने दोहोर्याए। उनले बीपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइराला प्रधामन्त्री हुँदा बीपी राजमार्गको सुरुवात गरेको स्मरण गर्दै जापानको सहयोगमा बनेको यस बाटोले पूर्व जाने छोटो बाटो तथा ‘कनेक्टिभिटी’ बढाउन निकै महत्त्वपूर्ण भएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।