काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बलियो र सुदृढ संघीय सरकार बनाउनुपर्ने बताएका छन्।
संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो र सुदृढ संघीय सरकारको पक्षमा रहेको बताएका हुन्। मुलुक संघीयताको अभ्यासमा गएको भएपनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा तीन तहका सरकारबीच अन्यौलता सिर्जना भइरहेको उनको भनाइ छ।
पालिकाहरूलाई एकीकृत गरेर ५०० वटाभन्दा कम स्थानीय तह बनाउनुपर्ने उनको तर्क छ। प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने उनले बताए। उपसभापति वाग्लेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल भने विज्ञहरूको बनाउनुपर्ने बताए।
उनले समावेशी, समानुपातिकको प्रतिनिधित्व संविधानले परिकल्पना गरे अनुरुप हुन नसकेको भन्दै यसप्रति धेरै प्रश्नहरु रहेको बताए।
उनले भने–‘स्थानीय पालिकाहरू अब ७५३ वटा पनि चाहिँदैन। ५०० भन्दा मुनिमै जाऔँ। धेरै पालिकाहरु मर्ज भएर आर्थिक दृष्टिले पनि उपयुक्त हुने गरेर अगाडि बढ्न सकिन्छ। समन्वयकारी, छरितो निकाय बीचमा रहोस्। माथि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री मागेपछि तल पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्यो। विज्ञहरुको मन्त्रिमण्डल र प्रदेश सभाको रूपचाहिँ गाउँपालिकाका सदस्य जो हुनुहुन्छ, त्यहीलाई नै विधायकी फङ्शन दिएर जाँदाखेरी अहिलेको जनगुनासो सम्बोधन गर्न सकिन्छ। शासकीय स्वरूप, समावेशिता र वित्तीय संघीयता यी तीनवटै विषय असाध्यै महत्वपूर्ण छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।