विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेश सभा बैठकमा उनले विश्वासको मत पाएका हुन्।
प्रदेश सभामा मत विभाजन हुँदा कार्कीको पक्षमा ६६ मत खसेको छ। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ। कांग्रेस एमालेले समर्थन गरेपछि कार्कीले ६६ मत प्राप्त गरेका हुन्।
बुधबार मत विभाजनका लागि बालाइएको बैठकमा ८३ सांसद उपस्थित भएका थिए। जसमा कार्कीको पक्षमा ६६ मत खसेको र विपक्षमा १५ मत खसेको सभामुख अम्बरबहादुर विष्टले बताए। दुई सांसद भने मत विभाजन प्रक्रियामा सहभागी भएनन्।
२७ वैशाखमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले ३१ वैशाखमा विश्वासको मत लिएका थिए। तर सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज पुन: विश्वासको मत परीक्षण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।