काठमाडौं– सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरिएको छ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आज (बुधबार) साँझ सार्वजनिक गर्ने तयारी रहेको बताएका छन्।
बुधबार काठमाडौँको मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै उनले सरकारको न्यूनतम साझा कार्यक्रममा शिक्षा ऐनलाई चाँडै पारित गर्नेगरी प्रस्ताव अघि बढाइएको बताए।
महामन्त्री थापाले आगामी संसद्को सुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताए। उनले शिक्षा ऐन दसैँ–तिहार लगत्तै सुरु हुने संसद्को हिउँदे अधिवेशनको सुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको बताए।
उनले कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत समितिमा सहभागी राजनीतिक दलहरूले दलगत हिसाबमा समूह बनाएर सहमतिले पारित गर्नेगरी अघि बढ्न आफूले सुझाव दिएको बताए। उनले उक्त समितिलाई दुई महिनाको समय दिएर समस्या सुझाउने प्रयास गर्न र सहमति जुटाउनसके छिटै शिक्षा विधेयक पारित हुने बताए।
उनले भने, ‘ आज साँझ नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ। त्यो कार्यक्रम बनाइरहेका छौँ । त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दै छौँ। लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहिँ लेख्ने तर संसदभित्रको काम हो। सरकारले चाहेर मात्रै हुँदैन। संसद्ले सँगै काम गर्नुपर्छ।’
महामन्त्री थापाले केही समयभित्रै शिक्षा ऐनलाई टुंग्याउने प्रतिबद्धता व्यक्त गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।