काठमाडौं- पूर्व-स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा डिजिटल हेल्थको अवधारणा लागू गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको बताएका छन्।
स्वास्थ्य खबरपत्रिका १५औं वर्ष प्रवेशको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्यखबर हेल्थ अवार्ड कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘डिजिटल हेल्थको अवधारणालाई लागू गर्न तीनै तहका सरकारबीच समन्वय हुन नसकेमा दोहोरोपन तथा स्रोतको अनुचित प्रयोगको अवस्था आउन सक्छ। ‘जथाभावी अस्पताल निर्माण र बेड संख्या मात्रै बढाएर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुन सक्दैन,’ उनले भने।
अवार्ड प्राप्त गर्ने सम्पूर्णलाई बधाई ज्ञापन गर्दै स्वास्थयखबरले अगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गरी उचाई प्राप्त गरिरहोस् भन्दै उनले शुभेच्छा व्यक्त गरे। वरिष्ठ गणितिज्ञ जिम साइमन्सलाई आफूले नजिकैबाटै बुझ्न पाएको भन्दै उनलाई मराणोपरान्त सम्मान प्रदान गरिएकोमा उनले खुसी व्यक्त गरे।
डिजिटल फ्रेमवर्कलाई स्वास्थ्यको एक महत्वपूर्ण विषयमा रुपमा राखिएको छ। केहीपछि आफूसँग डिजिटल समाधान भएको भन्दै स्वास्थ्यमन्त्रीलाई भेट्न आउने अवस्था हुने समेत पूर्व स्वास्थ्य मन्त्री थापाको विश्वास थियो। डिजिटल हेल्थसम्बन्धी जतिसुकै छलफल गरे पनि त्यो स्वास्थ्य सेवाको एक माध्यम मात्रै भएको र प्रमुख विषय गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै भएको उनको जिकिर थियो।
‘एक माध्यम मात्रै भएकोले सम्पूर्ण शक्ति त्यसमा मात्रै खर्चिने अवस्था समेत नआओस्। ‘प्रविधिको प्रयोगले स्वास्थ्य सेवा छिटो छरितो ,कम खर्चिलो तथा प्रभावकारी हुनुपर्छ,’ उनले भने। आर्टिफिसिल इन्टेलिजेन्सको प्रयोग गरी नेपालको स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा रहेका ग्यापलाई हटाउन सकिने उनको सुझाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।