काठमाडौं– हिंसा शब्दलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै लगातार सदन अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आजको बैठक अवरोध नगर्ने भएको छ।
आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाक्षएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।
आजकै बैठक सञ्चालन गर्न दिने कुरा भएको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जानकारी दिए। प्रधानमन्त्रीले नै सम्बोधन गर्ने भएका कारण आजको बैठक चल्न दिने उनको भनाइ छ। आजकै बैठकमा सहकारी बचत दुरूपयोगसम्बन्धी संसदीय छानबिन समितिले प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ।
माओवादीले हिंसा शब्द रेकर्डबाट हटाउनुपर्ने माग गर्दै प्रतिनिधि सभामा विरोध गर्दै आएको छ। माओवादीको विरोधपछि आइतबारको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको थियो।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुअघि प्रतिनिधि सभामा सम्बोधन गर्न लागेका हुन्। असोज ४ गते प्रधानमन्त्री ओली अमेरिकाको न्युयोर्क जाने कार्यक्रम छ।
माओवादीले हिंसा शब्द रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने जानकारी आइतबार सभामुख देवराज घिमिरेलाई दिएको थियो। नेकपा (एमाले) का सांसद योगेश भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभामा माओवादी 'जनयुद्ध' लाई लक्ष्य गरी त्यसबेला हिंसा भएको बताएका थिए। यो अभिव्यक्तिले 'जनयुद्ध' को मानमर्दन गरेको भन्दै रेकर्डबाट हटाउन माओवादीले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको थियो।
सभामुख घिमिरेले हिंसा शब्द असंसदीय नरहेको रुलिङ गरेपछि फेरि यो विषयलाई लिएर विवाद भइरहेको छ। एमाले र माओवादीका सांसदहरू यो विषयलाई लिएर आरोपप्रत्यारोपमा छन्।
यसैबीच संघीय संसदका दुवै सदन सोमबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।