काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणमा नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ।
शुक्रबार र आइतबार हुने दुई खेलले नेपालको आगामी यात्रा तय गर्नेछ। जित हात पारे तालिकाको शीर्ष चारमा पुगेर एक दिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवित रहनेछ। हारले नेपाल डिभिजन–२ मा झर्नेछ। यद्यपि डिभिजन–२ मा शीर्ष दुईभित्र पर्न सके एक दिवसीय विश्वकप खेल्ने विकल्प बाँकी नै रहनेछ। डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थामा छ।
नेपालले १३ वर्षपछि हङकङमा खेल्न लागेको हो। सन् २००४ मा नेपालले एसिसी फास्ट ट्रयाक तीन दिवसीय क्रिकेटमा घरेलु टिम हङकङसँग प्रतिस्पर्धा गरेको थियो। खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो। त्यतिबेला खेलेका पारस खड्का र सरद भेषावकर अहिले नेपाली टिममा छन्। हङकङ पुगेपछि बिरामी परेका शरदले दुवै खेल खेल्ने छैनन्। शरदको स्थानमा खेल्न नरेश बुढाऐर शुक्रबार बिहान हङकङ पुग्दैछन्। यसअघि अनुभवी खेलाडी शक्ति गौचन पनि बिरामी भएका कारण टिममा परेका थिएनन्।
हङकङको टिन कङ रिक्रिएसन मैदानमा हङकङ विरुद्ध उत्रँदा नेपालका कप्तान र प्रशिक्षकले जितको विकल्प नभएको बताए। नेपाली समय अनुसार शुक्रबार बिहान सवा ७ बजेदेखि हुने खेलमा नेपाललाई पहिलो चिन्ता भनेकै पिचको छ।
मैदान सानो तथा पहिलोपटक खेल्न लागेकाले नेपालले पिच अनुसारको योजना बनाएर खेल्नुपर्ने प्रशिक्षक र कप्तानले बताएका छन्। 'विकेट अनुसार खेल्नुपर्छ। पिच हेरेपछि कुन बल कसरी खेल्ने, खेलाडीले बुझेका छन्', नेपालका प्रशिक्षक जगत टमाटाले भने, 'बलरले लेन्थ र लाइनमा फोकस गरेर बलिङ गर्न सके, रन बनाउन गाह्रो हुन्छ। सकेसम्म रन रोक्ने हाम्रो योजना हुन्छ।'
सोचे जस्तो पिच नभएको स्वीकार गर्दै नेपाली टिमका कप्तान पारस खड्काले सम्हालिएर खेल्दै जित निकाल्नुको विकल्प नभएको बताएका छन्।
शरद बिरामी परेपछि नेपालको ब्याटिङ अर्डन पनि परिवर्तन हुँदैछ। 'शरदले खेल्न नसक्दा ३ नम्बरमा पारसले ब्याटिङ गर्नेछन्', टमाटाले भने।
कप्तान पारस खड्का नेपाली टिमका सबैभन्दा भरपर्दा खेलाडी हुन्। अलराउन्डर पारसले नेपाली टिमको मध्यक्रममा ब्याटिङ गर्छन्। उनले नेपाली टिमलाई चाहिएको अवस्थामा बलिङमा पनि योगदान दिन सक्छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा २ शतक प्रहार गरिसकेका उनी डब्लुसिएलमा नेपालका लागि सर्वाधिक रन जोड्ने खेलाडी हुन्।
पारसले अहिलेसम्म ८ खेलमा ३ सय ५२ रन जोडिसकेका छन्। उनले गत वर्ष कीर्तिपुरमा नामिबियाविरुद्ध सतक (१०३ रन) प्रहार गरेका थिए। उनले डब्लुसिएलमा तीन अर्धशतक बनाइसकेका छन्।
पारस बाहेक नेपालका अर्का भरपर्दा खेलाडी स्पिनर बसन्त रेग्मी हुन्। बसन्त डब्लुसिएलमा नेपालका लागि बढी विकेट लिने खेलाडी हुन्।
नेपालको डर हङकङका १९ वर्षीय युवा खेलाडी अंशुमान राथ माथि छ। तीन वर्षअघि राष्ट्रिय टिममा डेब्यु गरेका मध्यक्रमका ब्याट्सम्यान अंशुमान उत्कृष्ट लयमा छन्। हङकङका अलराउन्डर अंशुमान डब्लुसिएलमा सर्वाधिक रन प्रहार गर्ने खेलाडीको पहिलो नम्बरमा छन्। हङकङले डब्लुसिएलमा खेलेका १० मध्ये ७ खेलमा ब्याटिङ गरेका उनले ४ सय ९८ रन जोडिसकेका छन्। अंशुमान बाहेक हङकङका लागि स्पिनर नदिम अहमेद महत्वपूर्ण खेलाडी हुन्। अहमेदले डब्लुसिएलमा अहिलेसम्म २० विकेट लिइसकेका छन्।
नेपाली टिम
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
नरेश बुढाऐर
बसन्त रेग्मी
सोमपाल कामी
सागर पुन
विनोद भण्डारी
करण केसी
सुशील कँडेल
ललित भण्डारी
शुसन भारी
मोहमद आरिफ शेख
दीपेन्द्रसिंह ऐरी
सन्दीप लामिछाने
वैकल्पिक खेलाडी
जितेन्द्र मुखिया
मेहबुब अलाम
कुशल भुर्तेल
यो पनि पढ्नोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।