काठमाडौं– नेकपा (माओवादी केन्द्र) को संसदीय दलले प्रतिनिधि सभा अवरोधलाई जारी राख्ने निर्णय गरेको छ।
आइतबार बसेको संसदीय दल बैठकले हिंसा शब्द रेकर्डबाट नहटेसम्म अवरोधलाई जारी राख्ने निर्णय गरेको सांसद देवेन्द्र पौडेलले सेतोपाटीलाई बताए।
‘हिंसा शब्द संसदको रेकर्डबाट नहटेसम्म हाम्रो विरोध जारी रहन्छ, हामी प्रतिनिधि सभामा अवरोध गरिराख्छौं,’ उनले भने।
नेकपा (एमाले) का सांसद योगेश भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभामा माओवादी 'जनयुद्ध' लाई लक्ष्य गरी त्यसबेला हिंसा भएको बताएका थिए। यो अभिव्यक्तिले 'जनयुद्ध' को मानमर्दन गरेको भन्दै रेकर्डबाट हटाउन माओवादीले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको थियो।
सभामुख घिमिरेले हिंसा शब्द असंसदीय नरहेको रुलिङ गरेपछि फेरि यो विषयलाई लिएर विवाद भइरहेको छ। एमाले र माओवादीका सांसदहरू यो विषयलाई लिएर आरोपप्रत्यारोपमा छन्।
सभामुख घिमिरेले यसबारे प्रमुख सचेतक र सचेतकहरूसँग आइतबार छलफल गरे पनि निष्कर्षमा पुग्न भने सकेन। हिंसा शब्द संसदीय कि असंसदीय भन्ने विवादले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक पनि प्रभावित छ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि यस विषय किनारा नलागेसम्म सदन अवरोध कायमै रहने बताएका छन्।
‘माओवादीले उठाएको विषय खाली शब्दमात्र होइन। समग्र जनयुद्धको भाव र त्यहाँ व्यक्त भएका विषयबस्तुसँग सम्बन्धित छ,’ उनले भने, ‘हाम्रो दलले सदन अवरोध जारी राख्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।