काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा अब फटाफट फाइल सर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले नागरिकलाई प्रदान गर्ने सेवाको तरिकालाई परिवर्तन गरेको जानकारी दिँदै अब फाइलहरू कतै अड्किएर नबस्ने बताएका हुन्।
‘हामीले सेवाको तरिकालाई पहिलेको तरिकाभन्दा अलिकति परिवर्तन गरेका छौं। फाइल रोकेर एक ठाउँमा बस्ने तरिका, यस्ता कुराहरु हुने छैनन्। फाइल फटाफट सर्छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले एक ठाउँबाट सुरू भएको फाइल कुन प्रक्रियामा छ भन्ने कुरा प्रधानमन्त्री कार्यालयले नै थाहा पाउने बताए।
‘हामीले फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेका छौं। त्यसमा क्युआर कोर्ड राखिदिएका हुन्छौं, त्यो क्युआर कोर्डबाट फाइल कहाँनेर छ, त्यहाँबाट किन अल्झियो, किन घर्रामा बस्यो भनेर प्रधानमन्त्री कार्यालयले ट्रयाकिङ गर्नसक्छ,’ प्रधानमन्त्री ओलीले भने।
नागरिकलाई छिटो छरितो सरकारी सेवा दिन डिजिटल नेपालको फ्रेमवर्कलाई परिमार्जित गरिएको उनले बताए। त्यसकारण आफूले पाउने सुविधाका लागि नागरिकले घुस खुवाउन नपर्ने प्रधानमन्त्री ओलीले बताए।
‘सबै सरकारको तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनुपर्ने छैन। काम गरेबापत कुनै नजाराना केही चढाउनुपर्ने छैन। कतै भन्सुन गर्न जानुपर्ने छैन। त्यस प्रकारको परिपाटी हामी बिस्तार गर्दैछौँ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।