काठमाडौं – नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ।
कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन्।प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
२ राज्यमन्त्रीसहित एमाले-कांग्रेस गठबन्धनको १० सदस्यीय मन्त्रिपरिषद् बनेर शुक्रबार हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।
प्रदेश महामन्त्रीसमेत रहेका खोटाङका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो, राई भौतिक पूर्वाधार मन्त्री बनेका छन्।
त्यसैगरी झापाका भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका हुन्।
त्यस्तै ताप्लेजुङका खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सुनसरीका सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन्।
गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेतापनि कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन।
शुक्रबार शेखर समूहविना कांग्रेस सरकारमा सहभागी भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।