काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीका कामकारबाहीका विषयमा छलफल हुने एमालेका कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।
बैठकमा समसामयिक विषय र पोलिटव्युरो बैठकले पार्टीको वार्षिक कार्ययोजनाबारे दिएको सुझावबारे छलफल हुने जनाइएको छ । एमालेको पोलिटव्युरो बैठक भदौ १८ र १९ गते बसेको थियो । सदस्यहरुले दिएका सुझाव समेटेर कार्ययोजनालाई अन्तिम रुप दिन पार्टी सचिवालयलाई जिम्मा दिइएको थियो ।
बैठकमा शुक्रबार बोलाइएको संवैधानिक परिषद बैठक र उपसभामुख इन्दिरा रानामगरको राजीनामाबारे पनि छलफल हुने सम्भावना छ । यस्तै अध्यक्ष ओलीले तीन शीर्ष नेताबीच भएको छलफल र राजनीतिक परिस्थितिबारे सचिवालय सदस्यहरुलाई जानकारी गराउने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।