काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताएका छन्।
नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले आज विराटनगरमा आयोजना गरेको बधाई कार्यक्रममा उनले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनतामा आशा जगाएको बताए। “दुई ठूला दल मिल्दा अवसर र चुनौती दुवै छन्, यसलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ,” उनले भने।
पार्टी र जनप्रतिनिधिबीच एकापसमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका नेता खड्काले पार्टी सङ्गठनलाई बलियो बनाउन मोरङ कांग्रेसबाट अन्य जिल्लाले पाठ सिक्नुपर्ने बताए। मन्त्री खड्काले कोशी प्रदेशबाट कांग्रेसको प्रतिनिधित्व गरी आफू मन्त्री बनाएकाले यो प्रदेशप्रति जिम्मेवार बोध हुनेगरी काम गर्ने उल्लेख गरेका छन्। उनले संस्थागत रूपमा विकास योजनाका काम ल्याउनसमेत पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे।
ऊर्जामन्त्री खड्काले आगामी एक वर्षभित्र देशभर विद्युतीकरण गरिसक्ने अभियानका साथ सरकारले काम गरिरहेको बताए। सुशासनलाई केन्द्रमा राखेर मन्त्रालयले काम गरिरहेको उनले बताएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।