काठमाडौं- नेकपा एमालेका नेताहरुले प्रयोग गरेको हिंसा शब्दलाई लिएर सदनमा माओवादी–एमालेबीचको जुहारी अझै जारी छ।
एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसात्मक युद्ध भनेदेखि नै सदनमा दुई दलका सांसदहरुबीच शितयुद्ध जारी छ।
यसैमा आज सभामुख देवराज घिमिरेले हिंसा शब्ध असंसदीय नभएको रुलिङ गरे। त्यसपछि प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका सांसदहरु विरोधमा उत्रिए।
माओवादी केन्द्रले सभामुखको रुलिङमा आपत्ति जनाएर विरोधमा उत्रिएपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक आगामी भदौ ३० गतेसम्मलाई स्थगित गरेका छन्।
सभामुखको रुलिङपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै संविधानले नै स्वीकारेको जनयुद्धलाई अपमान गरेको बताएका थिए।
त्यसपछि माओवादी सांसदहरू उभिएर विरोध गरेपछि सभामुख घिमिरले बैठक अघि बढाउन खोजेका थिए। तर माओवादी सांसदहरूको विरोध नरोकिएपछि सभामुख घिमिरेले भदौ ३० आइतबार १ बजे बस्ने गरी संसद बैठक स्थगित गरेका हुन्।
आजको बैठकमा ‘हिंसा’ शब्दलाई लिएर एमाले र माओवादी सांसदहरूबीच जुहारी चलेको थियो। एमाले सांसदहरू रघुजी पन्त र महेश बर्तौलासहितले सभामुखको निर्णयको बचाउ गरे। उता माओवादी सांसदहरू हितराज पाण्डे र देवेन्द्र पौडेलसहित विरोधमा बोले।
केही तस्बिरहरु भने आक्रामकसमेत देखिएका छन्। माओवादी सांसद माधव सापकोटाले एमाले सचेतक महेश बर्तौलातर्फ औंला तेर्स्याएका थिए। प्रधानमन्त्री भएदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई लक्षित गरेर जनयुद्धलाई हिंसात्मक युद्धको रुपमा टिप्पणी गर्दै आएका छन्।
त्यसपछि सदनमै योगेश भट्टराईले हिंसा भनेका थिए। त्यसयता मााओवादीले सदन र सामाजिक सञ्जालमा एमाले नेताहरुविरुद्ध उक्त शब्दलाई लिएर तारन्तार प्रतिकार गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।