काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउने विषयमा आपत्ति जनाएका हुन्।
‘माननीय उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरामा राजनीतिक पार्टीहरु बसेर छलफल गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य हुने छैन’उनले भने।
संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुग्दैन भन्ने नाममा उपसभामुखलाई हटाउन खोजिनु लोकतान्त्रिक हुन नसक्ने सांसद परियारको भनाइ छ।।
उनले फेरि भने‘आज सम्मानित पदलाई परिषदलाई आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका र आफूलाई लोकतन्त्रको मसिहा भन्ने पार्टीहरु गुपचुप सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने जुन कर्म गर्ने तयारी गर्दै हुनुहुन्छ। स्मरण रहोस्– राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा पद गुमाउला तर लोकतन्त्रका लागि सधैं लड्नेछ, जनताको पक्षमा लड्नेछ’।
प्रमुख सचेतक परियारले अहिले सहज छ भनेर कसैलाई हटाउने र अर्को व्यक्ति लैजाने गर्दा भविष्यमा आफैंलाई अप्ठ्यारो पर्न सक्नेतर्फ सचेत हुन कांग्रेस-एमालेलगायत सत्तारुढ दललाई आग्रह गरेका छन्।
मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखले पद अनुकुलको आचरण नगरेको भनेर प्रश्न उठेको बताएका थिए।
‘एक वर्ष तपाईंले जित्नुहोला, दुई वर्ष तपाईंले जित्नुहोला। स्मरण रहोस् तपाईंहरूले आफैले खनेको खाल्डोमा आफैँ पर्नुहुनेछ। यो पनि लेखेर राख्नुस्’परियारले भने।
संख्याका आधारमा जे पनि गर्न सकिन्छ भन्ने हो भने जनताको साथ खोजिने उनले चेतावनी समेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।