काठमाडौं– प्रमुख सत्तारुढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई जनतालाई पिर मर्का पर्ने काम नगर्न सुझाव दिएको छ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले यस्तो सुझाव दिएका हुन्। साथै उनले मेयर शाहले राम्रो काम गरेको खण्डमा भने एमालेको साथ रहेको बताएका छन्।
गतवर्ष महानगरले संस्थागत विद्यालयहरुका नाम नेपालीमा राख्न दिएको निर्देशनलाई भने पन्तले प्रशंसा गरेका छन्। यद्दपि त्यो अभियान कहाँ पुग्यो भन्ने जानकारी नभएको बताए।
उनले बालेनलाई भने, ‘जनताको हितमा कदम चाल्नुस्, राम्रो कुरा गर्नुस् न । काठमाडौंका प्रमुखले राम्रो काम गर्दा त राम्रै भनिन्छ नि ! उहाँले एउटा काम सुरू गर्नुभएको थियो त्यो कहाँ पुग्यो थाहा छैन। अंग्रेजी नाम राखेका थुप्रै स्कुलहरू छन् तीनिहरूको नाम नेपालीमा राख्नुपर्यो भनेर। त्यो कहाँ पुग्यो? त्यो गर्नुपर्ने काम हो । तर, जुन काम गर्दा जनतालाई मर्का पर्छ, हिजो सरकारको कानूनअनुसार गरेको निर्णय उल्ट्याउन लाग्दा जनताले कसरी सुरक्षित ठान्ने?’
सर्वोच्च अदालतबाट खोला किनारमा थप अर्को २० मिटर छोड्नु पर्ने गरी भएको फैसलाले लाखौँलाख जनता विस्थापित हुने भएकाले सरकारले पुनरावलोकनमा जाने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।