काठमाडौँ-लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान संशोधनको दृष्टिकोण तय गर्न लक्ष्मणलाल कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहने निर्णय गरिएको प्रवक्ता आभास लाभले जानकारी दिए । उक्त कार्यदलले संविधान संशोधनका विषयमा सरकारलाई आवश्यक सहजीकरणसमेत गर्नेछ । बैठकले संविधान संशोधन गर्दा जातीय, वर्गीय उत्पीडनमा परेका समुदायलाई सामाजिक न्याय तथा मधेसका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ ।
बिहीबार सम्पन्न बैठकले आगामी वैशाख २६ गते महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ । महाधिवेशनस्थलबारे पछि निर्णय गरिने जनाइएको छ । वडा, गाउँ, क्षेत्र तथा केन्द्रसम्म सङ्गठन सुदृढीकरणका लागि जनलक्षित अभियान सञ्चालन गर्ने निर्णय गरेको बैठकले विभिन्न कारणले लोसपा परित्याग गरेका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।