काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू सत्तापक्षकै भए पनि मन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन्। उनले मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाउन पनि आग्रह गरे।
एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका छन्।
सांसद खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिन पनि माग गरे। उनले गण्डकीमा मन्त्री पद पैसामा बिक्री गर्न सुरु भएको हो कि होइन भन्दै सरकारसँग जवाफ मागे।
मन्त्री गुरुङको अभिव्यक्तिलाई लिएर हिजै प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा बिचार गर्न र विवाद नहुनेगरी छोटो बोल्न निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।