काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई ६ वटा प्रश्न गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा बोल्दै परराष्ट्रमन्त्री राणासँग ६ वटा विषयमा प्रश्न उठाएका हुन्।
उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कहिले चल्छ भनेर प्रश्न गरेका छन्।
हालै परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जाँदा हवाई रूटबारे भारतीय पक्षसँग के छलफल भयो भनेर पनि प्रश्न गरेका छन्। परराष्ट्रमन्त्री राणा भदौ २ गते भारत गएर भदौ ६ गते स्वदेश फर्केकी थिइन्।
भारत भ्रमणको भ्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्।
‘भैरहवा र पोखराको विमानस्थल कहिले चल्छ, मार्ग पाउँछ कि पाउँदैन? हवाई रूटबारे भ्रमणमा के छलफल भयो?,’ उनले प्रश्न गरे।
भारतीय पक्षसँग सीमासम्बन्धी बोर्डर वर्किङ ग्रुपको बैठक बस्न नसकेको बारेमा कुरा उठाएको, नउठाएकोबारे पनि उनले मन्त्री राणासँग सोधेका छन्।
‘सीमासँग सम्बन्धित मुद्दा छ, बोर्डर वर्किङ ग्रुपको बैठक लामो समयदेखि बस्न सकेको छैन। यो विषयमा के कुरा उठाउनुभयो?,’ उनले सोधे, ‘बोर्डरमा दुई पक्षीय सीमा सुरक्षाको विषयमा के कुरा उठाउनुभयो?’
त्यस्तै सांसद खनालले इपिजीको प्रसंगमा के कुराकानी भयो भनेर पनि प्रश्न गरे।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले नेपालका लागि राजदूत शंकर शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शर्मालाई पुन: राजदूतमा सिफारिस गरेको छ। यस विषयमा पनि सांसद खनालले प्रश्न गरेका छन्।
‘भारतमा गरिएको राजदूत शंकर शर्मालाई किन आफैले बनाएको कार्यविधि मिचेर पुन: नियुक्ति गरेको? आफैले बनाएको नियमवाली मिचेको?, उनले भने, ‘सुनुवाइ समितिमा शर्माले कार्यविधि मन्त्रालयबाट परिवर्तन गर्न सकिन्छ भनेर भन्नुभयो। राजदूत नियुक्तिमा यति हलुका उहाँको जबाफ आयो, यसमा सरकारको के छ प्रतिक्रिया?’
त्यसैगरी खनालले बिआरआईसँग सम्बन्धित विषयमा पनि प्रश्न गरेका छन्। उनले चीनसँग हुने हरेक सम्झौता बिआरआई अन्तर्गत हो भनेर सोधेका हुन्।
‘रिङरोड निर्माणको कुरा बिआरआईसँग जोडियो, बिराआई भनेको के हो? चीनसँग गर्ने हरेक सम्झौता बिआरआई हो? बिआरआई सम्बन्धमा छलफल गराउन हामी किन डराएको?,’ उनको प्रश्न छ।
त्यसैगरी अन्तिममा बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमपछि बिजुली बेच्ने विषयबारे छलफल के गरियो भनेर पनि उनले सोधेका हुन्।
‘बंगलादेशमा ४० मेगावाट बिजुली बेच्ने कुरा छ। तर, त्यहाँको राजनीतिक परिस्थिति अहिले अर्कै छ। बिजुली बेच्ने कुराममा भारत पनि जोडिन्छ। यो विषयमा मन्त्रालयले के छलफल गर्दैछ?,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।