काठमाडौँ- मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकका निर्णय आज सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति भएका डिसीलाई सोमबार बिहान १०:४५ बजे बोर्डमा पदभार ग्रहण तथा बधाई कार्यक्रम रहेको जनाएको हो।
यस्तै बैठकले बहुक्षेत्रीय घोषणा पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करिब तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचीकृत गर्ने निर्णय गरेको छ।
साथै मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योग मुद्दाको पीडित बिन्धवासीनी कंसकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मासिक क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा उपलब्ध गराउन व्यवस्था मिलाउने पनि निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।