काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकमात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव आइतबार बस्ने केन्द्रीय समितिको बैठकबाट पास हुने दाबी गरेका छन्।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस केन्द्रीय समितिको बैठकमा आफूले एक पटक राष्ट्रपति र दुई पटकमात्रै प्रधानमन्त्री बन्न पाउने नीति प्रस्ताव गरेको बताए।
उनले आइतबार बस्ने केन्द्रीय समितिको बैठकले सो नीति साझा दृष्टिकोण र सहमतिबाट पास हुने बताए। प्रधानमन्त्री जतिसुकै लोकप्रिय बने पनि उसले दुई पटकभन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
महामन्त्री शर्माले अहिले केही समस्या रहेको भए पनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर जाने उल्लेख गरे। उनले एक पटक राष्ट्रपति बन्न पाउने र दुई पटकमात्रै प्रधानमन्त्री बन्न पाउने दृष्टिकोण बनाएर जानसके भविष्यमा सबै राजनीतिक दलहरुलाई प्रभाव पार्ने बताए।
सो दृष्टिकोण अहिले बन्न नसके संविधान संशोधनको समयमा उपयुक्त समयमा छलफल गर्नेगरी अघि बढाउने उनले बताए।
‘कांग्रेसको अहिले १, २, ३, ४ भन्ने सुन्नुभएको होला। यो देशमा खालि प्रधानमन्त्री उनै उनै उनै अनुहारहरु भइरहँदा नागरिकलाई ताजा ताजा नेतृत्व कहिले आउँछ भन्ने चासो छ। त्यसैले मैले एउटा पोलिसी प्रस्ताव गरेको छु। कुनै पनि राजनीतिक दलले कसैलाई पनि राष्ट्रपति बनाउँदा दुई पटक होइन, यो देशको राष्ट्रपति केवल एक पटकमात्रै बनेर शीतलनिवासबाट वडा शीतल मुद्रामा बिदा भएर जानुपर्छ’, महामन्त्री शर्माले भने, ‘अनि प्रधानमन्त्री बन्दा उहाँ चार चोटी बन्नुभयो रे, उहाँ पाँच चोटी बन्नुभयो रे ! उहाँ ६ चोटी बन्नुभयो रे भन्ने खालको अवस्था हाम्रो पुस्तामा अन्त्य गर्नुपर्छ। त्यो अन्त्य गर्न प्रधानमन्त्री जतिसुकै लोकप्रिय हुन्, जतिसुकै जनताको रुवावासी चलोस्, तपाईं फेरि बन्नुपर्छ भनेर जनताले दबाब दिऊन्, तर दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक बन्न कसैले पनि पाउनु हुँदैन।’
उनले रुपान्तरणका थुप्रै मुद्दा अब उठाउन जरुरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।