काठमाडौं– नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले आफूमाथि माओवादीले लगाएका आरोपहरुको जवाफ दिन तयार रहेको बताएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा जनयुद्धलाई हिंसात्मक युद्ध भनेपछि उनीविरुद्ध देशभरका माओवादी नेता कार्यकर्ताहरु सामाजिक सञ्जालमा उत्रिएका छन्।
आजको संसद बैठकमा समेत माओवादी सांसदले भट्टराईले जनयुद्धका बेला तस्करी गरेको आरोप लगाए। त्यसपछि बिहीबार सचिव भट्टराईले सामाजिक सञ्जालमा आफूमाथि लगाइएका आरोपको प्रतिकार गर्दै जुनसुकै ठाउँमा पनि गएर जवाफ दिन तयार रहेको बताएका हुन्।
माओवादी कार्यकर्ताले भट्टराईको फोटोमा माल्यार्पण गरेर श्रद्धान्जली दिएको टिकटक तथा फेसबुक पोस्टहरु भाइरल बनाइरहेका छन् भने सांसदले संसदमै हतियार तस्करीको आरोप समेत लगाएका छन्।
भट्टराईले माओवादीबाट संस्थागत हमला भएपछि प्रतिवाद गर्दै धम्की र मिथ्य आरोपले आफ्नो इमान नडगमगाउने चुनौति दिएका छन्। सामाजिक संजालबाटै जवाफ फर्काउँदै भट्टराईले माओवादीलाई रक्तचन्दन,गिटी बालुवा तस्करीदेखि बैंक लुटपाट,सुन तस्करीजस्ता कुकर्मको एक ठाउँमा मात्रै जवाफ दिन चुनौति दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।