काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले दुई तिहाईको घमण्ड देखाइरहेकाले श्रीलंका र बंगलादेशको अवस्था सम्झिन सरकारलाई चेतावनी दिएका छन्।
सुदूरपश्चिम प्रदेशको धनगढीमा बुधवार र बिहीबारसम्म चलेको माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा प्रदेश पदधिकारीहरुको परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले बङ्गलादेश र श्रीलङ्काको अवस्था आउन सक्ने भन्दै चेतावनी दिएका हुन्।
‘दुई तिहाइको घमण्ड चाहिँ नगर्नुस् है, मैले भनेको छु। तपाईँ सुध्रिनुस् भनेको छु। राम्रो गर्नुभयो भने हामी समर्थन गर्छौ भनेको छु। दुई तिहाइको घमण्ड गर्नुहुन्छ भने बङ्गलादेश र श्रीलङ्का सम्झिनुस् भनेर सम्झाएको मात्रै हुँ’ उनले भने।
दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने समेत उनले बताएका थिए। ‘उहाँहरूले संविधानमाथि घात गर्नुहुन्छ कि भन्ने आशङ्का पैदा भएको छ। संविधानमा हामीले धेरै मेहनत गरेर समावेशी र समानुपातिकको व्यवस्थालाई राखेका छौं। त्यसमा दलित मुस्लिम, महिला, मुस्लिम, थारुहरूको अधिकार सुनिश्चित गरेको उहाँहरूलाई मन परेको छैन। उहाँहरू ०७२ को संविधानमा माओवादी देख्नुहुन्छ। समानुपातिक भनेपछि माओवादी, समावेशी भनेपछि माओवादी, गणतन्त्र भने पनि माओवादी देख्नुहुन्छ ’ प्रचण्डले भनेका थिए।
यसैबीच प्रचण्डले माओवादी फुट्छ भन्ने हल्ला भ्रम मात्रै रहेको बताएका छन्। आफूहरू झन् एकताबद्ध भएकाले र आफ्नो पार्टीभित्र मात्रै होइन बाहिर रहेको माओवादी घटक क्रान्तिकारी शक्तिहरूलाई एउटै पार्टी बनाएर लैजान सशक्त रूपमा लागेको पनि बताए।
अध्यक्ष प्रचण्डले दुई ठुला पार्टी रक्षात्मक रूपमा मिलेको बताउँदै सरकार बनाउन माफिया सक्रिय भएको बताए। अध्यक्ष प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा काम नगरे त्यसका विरुद्ध सडकमा उत्रिने पनि बताए । उनले भ्रष्टाचारमा ५ वर्षको हदम्याद मान्य नहुने पनि बताए।
‘५ वर्षे हदम्याद हामीलाई मात्र होइन नेपाली कांग्रेसलाई पनि स्वीकार हुँदैन होला जस्तो लाग्छ मलाई ’ उनले भने। अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा र क्रान्तिकारीसँग पनि छलफल चलिरहेको बताएका थिए।
समग्रमा अहिले सुशासनको पक्षमा सामाजिक न्यायको पक्षमा भयानक आर्थिक सङ्कटबाट बाहिर ल्याउन आफ्नो नेतृत्वको सरकार सफल रहेको प्रचण्डको जिकिर थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।