काठमाडौं– जनयुद्धलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र र सत्तारुढ नेकपा एमालेबीच सदनमा आरोप प्रत्यारोप चलेको छ।
बुधबारको प्रतिनिधि सभा बैठकमा एमाले सचिव योगेश भट्टराईले माओवादी हिंसाका कारण देश ऊर्जा उत्पादनमा पछि परेको भनेपछि माओवादीले आपत्ति जनाएको हो। प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी युद्ध नभएको भन्दै सांसद भट्टराईले ०६५ सालमै देश लोडसेडिङ मुक्त हुने बताए।
सांसद भट्टराईको यो अभिव्यक्तिप्रति माओवादीका सांसद माधव सापकोटाले नियमापत्ति जनाए। उनले सांसद भट्टराईले गैरसंसदीय र अमर्यादित शब्द प्रयोग गरेको दाबी गरे।
तर, सभामुख देवराज घिमिरेले सांसद सापकोटालाई रोकेर भट्टराईलाई नै बोल्न निरन्तरता दिएपछि माओवादीका सांसदहरुले विरोध जनाएका छन्। माओवादीका सांसदहरुले बोल्न नदिएपछि सांसद भट्टराईले आफूलाई बोल्न नदिनु पनि हिंसा नै भएको तर्क गरे।
त्यसपछि माओवादीका सांसद देवेन्द्र पौडेलले नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने नैतिक धरातल अहिलेको संविधानले नदिने बताए। उनले भने, ‘उहाँले बोल्नुभएको शब्द रेकर्डबाट हटाउन माग गर्छु।’
पौडेलले बोलेपछि योगेशलाई सभामुखले समय दिए पनि माओवादीले विरोध कायमै राखेपछि दुवै पार्टीका सांसद आरोप प्रत्यारोपमा उत्रिए। माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संविधानले हिंसा नभनेको भन्दै माओवादी जनयुद्धको अपमान गर्न नहुने बताए।
त्यसपछि भट्टराईले बोल्दा फेरि माओवादीका सांसदले हिंसा शब्द रेकर्डबाट हटाउन माग गरेपछि भट्टराईले निहत्था मान्छेको हत्या गर्ने र अपहरण गर्ने काम हिंसा नै थियो भनेर प्रतिवाद गरे। एमालेका रघुजी पन्तले जनयुद्धमा मान्छे मारिनु हिंसा थियो भन्दै हिंसा शब्द प्रयोग गर्नु असंसदीय नरहेको प्रतिक्रिया दिए।
सभामुखले माओवादीका सांसद रणेन्द्र बरालीलाई विशेष समयमा बोल्न दिए पनि उक्त पार्टीका सांसदले भने हिंसा शब्द नै हटाउनुपर्ने भन्दै सदन चल्न अवरोध सिर्जना गरेका छन्। सभामुखले पौडेललाई बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरु उठेर ससदनमा होहल्ला गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।