काठमाडौं– नेकपा एमालेका नेता तथा सांसद रघुजी पन्तले माओवादीले प्रतिपक्ष दलको नेताको जिम्मेवारी जनार्दन शर्मालाई दिन सुझाव दिएका छन्।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन्। उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिने क्रममा यस्तो सुझाएका हुन्।
सरकार गठन भएको एक सय दिन नपुग्दै प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको आलोचना गरेपछि असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलको नेता शर्मालाई दिन भनेका हुन्।
उनले भने, ‘आज दुःखका साथ भन्नुपर्छ, उहाँले यो नजिर तोड्नुभएको छ। उहाँले त्यतिमात्रै भन्नुभएन, लाञ्छित गरेर केसम्म भन्नुभयो भने सबै तपाईंहरुलाई चाहिएको छ भने यो प्रमुख प्रतिपक्षको पद पनि लैजानुस् भनेर। संविधान त पढ्नुस् नेताज्यू। प्रमुख प्रतिपक्षको पद तपाईंले दिएर, तपाईंले खोजेर पाउने पद होइन। हामीले खोजेर पाउने पद होइन। त्यो एउटा संवैधानिक पद हो। त्यो तपाईंलाई पनि दिएको होइन। तपाईंको दललाई दिएको हो। दुई ठूला दल मिलेर सरकार बनाएपछि तेस्रो ठूलो दल प्रमुख प्रतिपक्षमा स्वतः भएको हुनाले त्यो पार्टीलाई दिइएको हो। त्यो दललाई दिएको हो। मन लाग्दैन भने तपाईंकै छेउमा जनार्दनजी बस्नुभएको छ। दिनुस् न उहाँलाई। चाहिएन हामीलाई। किनभने हामीले लिन हुने पद पनि होइन। आफ्नै दलका कुनै नेतालाई दिनुस्।’
प्रमुख प्रतिपक्ष दलको नेता हुने अनि यो पद पनि लैजाऊ भनेर भन्दै प्रचण्डले प्रधानमन्त्री पद गएकोमा छटपटी पोखेको सांसद पन्तले टिप्पणी गरे।
उनले थपे, ‘चाहिँदैन सत्ता भन्नुहुन्छ। हिजो ३ चोटी घरी यता, घरी उता, जता सत्ता, त्यतै प्रचण्ड भनेर यो संसदभित्र स्थापित गर्ने मान्छे को हो ? तपाईं स्वयम् होइन ? तपाईंको कारणले मुलुकमा अस्थिरता उत्पन्न भएको थियो। तपाईंको कारणले राजनीतिज्ञहरुले आफ्नो विश्वसनीयता गुमाएका थिए। बाहिर भन्न थालेका थिए– नक्कले र नक्कली लुगा फेरेभन्दा छिटो प्रचण्डले दल फेर्दछन्। समीकरण फेर्दछन् भनेर। कसले गर्दा यो परिस्थिति उत्पन्न भयो ? के कारणले उत्पन्न भयो ? त्यसैले फर्केर हेर्नुस्, आज ठूला दल मिले। मलाई सत्ता चाहिँदैन भनेर सत्ता फकाउनुको के अर्थ छ र ? अब त कोही आउँदै आउँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।