काठमाडौँ- नेकपा एकीकृत समाजवादीमा १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि आज निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।
दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम सम्पन्न भएपछि आजै दिउँसो २ देखि पाँच बजेसम्म मतदान हुने तालिका छ । साँझसम्म मतगणना गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले जनाएका छन् ।
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्य चयनका लागि निर्वाचन गर्न लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ ।
केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ । केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी चुनिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।