काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको सभापति फेर्ने माओवादी र रास्वपाको मागको प्रतिवाद गर्दै फेर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि फेर्न चुनौती दिएका छन्।
समितिको आइतबारको बैठकमा माओवादी र रास्वपाका सांसदले विपक्षीलाई समितिको सभापति दिनुपर्ने भनेर पटकपटक माग गरेपछि बास्कोटाले कडा प्रतिवाद गरेका हुन्। उनले विगतमा माओवादी सत्तापक्षमा रहँदा जनार्दन शर्मा सभापति रहेको उदाहरण दिँदै वर्तमान सभापति ऋषिकेश पोखरेलमाथि पटकपटक हमला नगर्न चेतावनी दिए।
बास्कोटाले भन, ‘यहाँ बारम्बार यस्ता कुरा नल्याउनुस् । समितिको सभापति फेर्ने हो भने राष्ट्रिय सभाको अध्यक्ष फेरौं, उपसभामुख पनि फेरौं अनि यहाँ पनि फेरौं । राजनीतिक सहमति गरेर आउनुस्, यहाँ कराउने होइन । होइन सबै सबै समितिमा निर्वाचन गरौं, यहाँ मसला बनाउने काम छैन। घण्टा घण्टामा राजनीतिक समीकरण फेरिने देश हो, यहाँ के का कुरा।’
बास्कोटाले आफूलाई लोकरिझ्याइँको मतलब नभएको र फेसबुके तथा युट्युबेले खेद्लान् भन्ने डर पनि नरहेको भन्दै भाइरल रोग समितिमा नभित्र्याउन चेतावनी समेत दिए। उनले अमनलाल मोदी, हरि ढकाललगायतका माओवादी र रास्वपाका सांसदलाई जवाफ दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।