काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा बस्ने नेपालीहरुले पनि स्वदेश फर्किन चाहना व्यक्त गरिरहेको बताएका छन्।
युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले विदेशमा रहेकाहरुलाई फर्किन आफूहरुले अनुकूल काम गरिरहेको बताए।
केहीकेहीबाहेक युवाहरु नेपाल फर्किन तयार रहेको उनको भनाइ छ। उनले भने, ‘युवाहरुलाई स्वदेशमा फर्काउने कार्यक्रम ल्याउन अहिलेको सरकारसँग आश पनि गर्नु, भर पनि पर्नुस्, फरक पर्दैन। यो सरकारसँग भर पर्नुपर्छ। यो सरकार केही गर्न बनेको छ। म यो उमेरमा घर्सिनुपर्ने केही आवश्यकता थिएन। देशमा परिवर्तन ल्याइछाड्ने उद्देश्यका लागि बनेको छु।’
प्रधानमन्त्री ओलीले अहिले समाजमा स्वार्थी प्रवृत्ति बढेकोप्रति गुनासो गरे। उनले भने, ‘यस प्रवृत्तिलाई पराजित नगर्दा बलात्कार जस्ता आपराधिक क्रियाकलाप बढेका छन्। समाजमा मानिसले सामाजिक प्राणी भएर रहन सक्नुपर्छ। मानव जातिले समाजले तयार पारेको मूल्य मान्यताअनुसार चल्न सक्नुपर्छ। बलात्कार गर्नेहरुलाई कानूनअनुसार कडा कारबाही पनि गरिन्छ। यसलाई रोक्नैपर्छ, यो एउटा मानव जातिकै निम्ति कलंक हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।