काठमाडौँ- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको प्रस्तावप्रति आपत्ति जनाएका छन्। उनले जनताले चाहेसम्म जो जति पटक पनि चुनाव लड्न सक्ने बताएका छन्।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै कार्कीले महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको ‘एक्जिट पोलिसी’को आलोचना गरेका हुन्। उनले भने, ‘विश्वप्रकाशजीले ल्याएको एक्जिट पोलिसी अपरिपक्व छ, अव्यावहारिक छ।’
बैठकमा महामन्त्री शर्माले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद बन्न नपाउने प्रावधान पार्टी विधानमै संहिताकृत गर्नुपर्ने प्रस्ताव सहितको प्रतिवेदन पेस गरेका छन्।
उनले महाधिवेशनको मिति तोक्न दबाब आइरहेको सन्दर्भलाई लक्षित गर्दै त्यसको औचित्य नरहेको बताए। महाधिवेशन समयमै सम्पन्न गर्न केन्द्रित हुनुपर्ने तर अहिले नै तिथि-मिति तोक्न आवश्यक नरहेको उनको भनाइ थियो।
कार्कीले सत्ता गठबन्धनको विषयलाई अहिले बहसमा ल्याउन उचित नहुने पनि बताए। उनले अन्तरघात संगठित रूपमा बढ्न थालेको भन्दै यसलाई रोक्ने काम गर्नुपर्ने खाँचोसमेत औँल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।