काठमाडौं– पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्दाहरुमा पाँच वर्षे हदम्याद राख्ने प्रावधान कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले आफ्नो पार्टीले यसबारे ‘ नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट’ रहेको धारणा राखे।
भ्रष्टाचारका मुद्दामा पाँच वर्षे हदम्यादको प्रस्ताव आएपछि त्यसबारे देशभरका युवाहरुमा चिन्ता बढेको र उनीहरुले पनि यो कुनै हालतमा पारित हुन नहुने धारणा राखेको उनले बताए।
उनले भने, ‘हिजोदेखि मलाई कम्तिमा दुई हजारभन्दा बढीले फोन कल गरिसकेका छन्। भ्रष्टाचारमा कुनै हालतमा हदम्याद राख्न नहुने उनीहरुको माग छ। भर्खरैका युवाहरुमा देशप्रति यति धेरै चिन्ता छ। त्यसैले यो कुनै हालतमा पारित हुन हुँदैन।’
यस्तै उनले नीतिगत भ्रष्टाचारमा मन्त्रिपरिषद्मा लगेर निर्णय गरी उन्मुक्ति दिने परीपाटी पनि हटाउनुपर्ने माग गरे। बैठकमा सम्बोधन गर्ने क्रममा दलितहरुको अधिकारका लागि आन्दोलनरत खगेन्द्र सुनारलाई पक्राउ गरी अबेर राति छाडिएको विषयमा सभापति लामिछानेले यो देशमा अब अधिकार माग्नेलाई पनि सरकारले पक्राउ गरेर मुख बन्द गर्न लागेको हो? भन्दै प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।