काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ।
बुधबार पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकले डा. ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। यसअघि सचिवालयले सोधेको स्पष्टीकरणको जवाफ ढकालले दिइसकेका छन्। केन्द्रीय अनुशासन आयोगले उनका पछिल्ला गतिविधिबारे प्रतिवेदन बुझाइसकेको छ।
‘तपाईंलाई साधारण सदस्यबाट किन निष्काशन नगर्ने भनेर अन्तिम पटक स्पष्टीकरण सोध्ने र सफाइको मौका दिने निर्णय गरिएको हो। यसअघि सचिवालयले त्यस्तो स्पष्टीकरण सोधेको थियो,’ झाले भने, ‘२४ घन्टे स्पष्टीकरण सोध्नुपर्छ र सफाइको मौका दिनुपर्छ भन्ने केन्द्रीय सदस्यहरूको सुझावको आधारमा त्यो निर्णय गरिएको हो।’
गत जेठ ६ गतेदेखि असारको ५ गतेसम्म रास्वपाका महामन्त्री रहेका ढकाल देश दौडाहामा गएका थिए।
उनले ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन बुझाउनुअघि मिडियामा पार्टी कमजोर बनेको, यस्तै अवस्था रहे अर्को चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत मुस्किल हुने, स्वतन्त्र निर्वाचितहरूसँग मिलेर पार्टी बलियो बन्नुपर्ने लगायत प्रतिवेदनका अंश चुहाएपछि उनलाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यसमेतबाट निलम्बन गरिएको छ।
अब साधारण सदस्यसमेतबाट हटाउने तयारी स्वरूप अन्तिमपटक स्पष्टीकरण सोधिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।